जिल्ला परिचय
औद्योगिक विकासको सम्भावना रहेको नुवाकोटको कृषि अर्थतन्त्र आर्थिक वर्ष ०६७/६८ देखि हालसम्मलाई आधार मान्दा निर्यातमुखी छ । आर्थिक विकासको फड्को मार्ने अवस्थामा रहेको नुवाकोटका ७५ प्रतिशत जनता कृषि पेसामा आश्रितमात्र छैनन्, यहाँबाट कृषि उत्पादन निर्यातसमेत हुने गरेको छ ।
कृषक परम्परागतबाट व्यावसायिक बन्दै जाँदा नुवाकोटको कृषि अर्थतन्त्र सुधारिँदो मात्र छैन, निर्यात र उत्पादनमुखी पनि भएको छ । नगदेबाली र आधुनिक कृषि प्रणालीतर्फ कृषक आकर्षित भएपछि खाद्य असुरक्षा हटेको छ । मुलुककै खाद्य संकटलाई न्यून पार्न केही हदसम्म नुवाकोटले सहयोग पु¥याएको छ ।
जिल्ला कृषि विकास कार्यालयका अनुसार आव ०६७/६८ मा नुवाकोटबाट ७० प्रतिशत धान निर्यात भएको छ । २० हजार ९ सय ५२ हेक्टरमा ५४ हजार ८ सय ४३ मेट्रिक टन धान उत्पादन भएको कार्यालय प्रमुख राजाराम अधिकारीले जानकारी दिए । २० हेक्टरमा धान नलगाए पनि आव ०६८/६९ मा ८७ हजार ७ सय ४३ मेट्रिकटन धान उत्पादन भएको कार्यालयले जनाएको छ । “खडेरीले धान लगाउन नपाए पनि गत वर्षभन्दा २३ प्रतिशतले उत्पादनमा वृद्धि भएको छ,” उनले भने ।
जिल्लाका कृषकले गत वर्ष हिउँदे र वर्षे आलुबाट ६७ करोड ५० लाख, हरियो मोटरकोसाबाट ३ करोड २० लाख, बोडीबाट १ करोड २० लाख, स्ट्रबेरीबाट ४ करोड ५० लाख, मुलाबाट ८ करोड, तरकारीबाट ५१ करोड, अलैंचीबाट ३० लाख, सुन्तलाजातको फलफूलबाट १ करोड २० लाख, चैते धानखेतीबाट २६ करोड २५ लाख र रेन्बो ट्राउट माछाबाट ९ करोड रुपैयाँ आम्दानी गरेको प्रमुख अधिकारीले बताए ।
“शान्ति स्थापनापछि सञ्चार र यातायातको विकास एवं विद्युतीकरणले कृषकलाई व्यावसायिक र आत्मनिर्भर हुन सहयोग पुगेको छ,” उनले भने, “नुवाकोट अहिले निर्यातमुखीमात्र होइन आत्मनिर्भरसमेत छ ।” यहाँको खेतीयोग्य जमिनलाई सदुपयोग गर्नेसके नुवाकोटको भविष्य उज्ज्वल रहेको उनले बताए ।